‘जेनजी’ आन्दोलन छानबिन प्रतिवेदन अपूर्ण भएको भन्दै बहस, केही प्रमुख घटना छुटेको आरोप
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजी’ आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदनमाथि विभिन्न पक्षबाट प्रश्न उठ्न थालेको छ। बुधबार सार्वजनिक २९ पृष्ठ लामो प्रतिवेदन अपूर्ण रहेको र केही महत्वपूर्ण तथा चर्चित घटनाहरू समेट्न नसकेको आरोप लगाइएको छ।
प्रतिवेदनमा भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागेर काठमाडौँमा ४२ जना र सुनसरी–झापामा ५ जना गरी ४७ जनाको मृत्यु भएको उल्लेख गरिएको छ। साथै, आगजनीका घटनामा थप १९ जनाको मृत्यु भएको विवरण पनि समेटिएको छ।
तर, प्रतिवेदनमा आन्दोलनका क्रममा भएका केही चर्चित घटनाहरू उल्लेख नभएको भन्दै आलोचना भइरहेको छ। भदौ २४ गते तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि बुढानीलकण्ठस्थित निवासमा भएको कुटपिट तथा आक्रमणबारे प्रतिवेदन मौन रहेको आरोप छ।
त्यस्तै, त्यसबेलाका काठमाडौ महानगरपालिकाका प्रमुख (हालका प्रधानमन्त्री) बालेन्द्र (बालेन) शाहको भूमिकाबारे पनि प्रतिवेदनमा कुनै उल्लेख नभएको भन्दै प्रश्न उठाइएको छ। आन्दोलनको व्यवस्थापन र त्यसपछिको परिस्थितिमा उनको भूमिकाबारे विश्लेषण नसमेटिएको टिप्पणी गरिएको छ।
आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा ठूलो क्षति हुँदासमेत नेपाली सेनाको भूमिकाबारे प्रतिवेदनले गम्भीर मूल्यांकन नगरेको भन्दै पनि आलोचना गरिएको छ। सेनाको भूमिकालाई ‘समन्वय अभाव’ का रूपमा मात्र व्याख्या गरिएको तर जिम्मेवारीबारे कडा सिफारिस नभएको आरोप छ।
प्रतिवेदनले तत्कालीन राजनीतिक नेतृत्वलाई मुख्य रूपमा जिम्मेवार देखाए पनि केही प्रमुख घटना र पात्रहरूको भूमिकाबारे मौनता देखिएको भन्दै यसलाई अपूर्ण मानिएको छ। कांग्रेस महामन्त्री प्रदीप पौडेलले प्रतिवेदनमा सबै विषय समेट्न नसकिएको प्रतिक्रिया दिएका छन्। मानव अधिकारकर्मीहरूले पनि प्रतिवेदनमा कमजोरी रहेको र थप अनुसन्धान आवश्यक रहेको बताएका छन्।
आयोगले भने प्रतिवेदनका आधारमा सम्बन्धित निकायले थप अनुसन्धान अघि बढाउन सक्ने र दोषी देखिए कानुनी प्रक्रियामा ल्याउन सकिने स्पष्ट पारेको छ।







