चलचित्र ‘जिरो डिग्री’ तिहारमा प्रदर्शन हुने, फर्स्ट लुक भिडियो सार्वजनिक
Prime TV News ५३ मिनेट अगाडि 
काठमाडौ । निर्देशक सजन काफ्ले र आकाश बराल निर्देशित चलचित्र ‘जिरो डिग्री’को फर्स्ट लुक भिडियो सार्वजनिक गरिएको छ। साथै, निर्माण पक्षले चलचित्रको प्रदर्शन मिति तिहार अवसरमा तय गरेको छ।
सार्वजनिक भिडियोमा अभिनेता विजय बराललाई ‘पुन्य चौलागाईं’ नामक वडा अध्यक्षको भूमिकामा प्रस्तुत गरिएको छ। “जहाँ समस्या त्यहाँ पुन्य चौलागाईं” र “यो गाउँमा बाहेक अरु को नै छ र मेरो आफ्नो” जस्ता संवादले उनको पात्रलाई प्रभावशाली र चलाख स्थानीय जनप्रतिनिधिका रूपमा चित्रण गरेको छ।
निर्माण पक्षका अनुसार चलचित्रले ग्रामीण राजनीति, स्थानीय सत्ता संरचना र जनप्रतिनिधिहरूको दोहोरो चरित्रलाई डार्क कमेडी शैलीमा व्यंग्यात्मक रूपमा प्रस्तुत गरेको छ। कथावस्तु सडक सञ्जाल राम्रोसँग नपुगेको एक विकट गाउँमा केन्द्रित छ।
आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान फर्किन नसकेपछि शवलाई सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँमा पुग्ने क्रममा उत्पन्न हुने अनौठा र हास्यपूर्ण घटनाहरू चलचित्रको मुख्य कथा रहेको बताइएको छ। चलचित्रमा विजय बरालसँगै प्रकाश घिमिरे, राजन भुसाल, सनिशा भट्टराई, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, लोकेन्द्र लेखक र सन्जोग रसाइलीलगायत कलाकारहरूको अभिनय रहेको छ।
मोती कार्की कार्यकारी निर्माता रहेको चलचित्रलाई निशाल पौडेलले छायांकन गरेका हुन्। निर्माण पक्षले ‘जिरो डिग्री’लाई सामाजिक व्यंग्य र मनोरञ्जनको मिश्रण भएको चलचित्रका रूपमा प्रस्तुत गरेको छ।







