चलचित्र ‘गौँथली’को टिजर सार्वजनिक, पारिवारिक सम्बन्ध र महिलाको संघर्षलाई मुख्य विषय

User Image Prime TV News एक घण्टा अगाडि
Image of चलचित्र ‘गौँथली’को टिजर सार्वजनिक, पारिवारिक सम्बन्ध र महिलाको संघर्षलाई मुख्य विषय

काठमाडौ । निर्देशक डा. कपिल रिजाल निर्देशित चलचित्र ‘गौँथली’को टिजर सार्वजनिक गरिएको छ। टिजरले पारिवारिक सम्बन्ध, वैवाहिक जीवनमा महिलाले भोग्ने चुनौती तथा आमाको संघर्षलाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ।

टिजरमा छोरीको भविष्य सुरक्षित बनाउन आमाले गर्ने प्रयास र विवाहपछि महिलाले भोग्ने मानसिक तथा घरेलु पीडालाई केन्द्रमा राखिएको छ। विवाहपछिको सम्बन्धमा देखिने असन्तुलन, श्रीमानको बदलिँदो व्यवहार तथा त्यसले निम्त्याउने पीडालाई कथात्मक रूपमा प्रस्तुत गरिएको छ।

चलचित्रले पढ्ने चाहना हुँदाहुँदै विवाह गर्न बाध्य भएकी महिलाको जीवन, विश्वास गरेकै व्यक्तिबाट हुने भावनात्मक धोका र त्यसपछि आउने संघर्षलाई उजागर गरेको छ। साथै सासु–बुहारी सम्बन्ध र पारिवारिक तनावलाई पनि कथाको महत्वपूर्ण पाटोका रूपमा देखाइएको छ।

चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन्। उनीहरूसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपाली लगायत कलाकारको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।

डा. भोला रिजालको कथामा बनेको यस चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक कपिल रिजालसँग निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्। भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको संयुक्त प्रस्तुतिमा बनेको चलचित्रका कार्यकारी निर्माता सरला रिजाल हुन्।

निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताका रूपमा संलग्न छन्। चलचित्रलाई हरि हुमागाईंले छायांकन गरेका हुन् भने मिलन श्रेष्ठले सम्पादन गरेका छन्। ‘गौँथली’ साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।