निर्माण सामग्रीको मूल्यवृद्धि नियन्त्रण गर्न नेपाल उद्योग वाणिज्य महासंघको सरकारसँग आग्रह

User Image Prime TV News एक घण्टा अगाडि
Image of निर्माण सामग्रीको मूल्यवृद्धि नियन्त्रण गर्न नेपाल उद्योग वाणिज्य महासंघको सरकारसँग आग्रह

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघले निर्माण सामग्री तथा इन्धनमा भएको तीव्र मूल्यवृद्धिका कारण निर्माण उद्योग गम्भीर संकटमा पुगेको भन्दै सरकारसँग तत्काल मूल्य समायोजनको व्यवस्था गर्न आग्रह गरेको छ।

महासंघका अनुसार पछिल्लो समय डिजेल, बिटुमिन, ढुवानी खर्च तथा अन्य निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढेसँगै देशभरका निर्माण परियोजनाहरू प्रभावित भएका छन्। यसले निर्माण व्यवसायीहरूलाई आर्थिक तथा मानसिक रूपमा ठूलो दबाब सिर्जना गरेको महासंघको भनाइ छ।

महासंघले जारी गरेको विज्ञप्तिमा निर्माण उद्योग मुलुकको आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब २० लाखभन्दा बढीलाई रोजगारी प्रदान गरिरहेको जनाएको छ। तर हालको मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प हुने जोखिम बढेको र आपूर्ति शृङ्खला नै अवरुद्ध भएको दाबी गरिएको छ।

महासंघका अनुसार मध्यपूर्वको द्वन्द्वपछि मात्र डिजेलको मूल्य प्रतिलिटर १३९ रुपैयाँबाट बढेर २२५ रुपैयाँ पुगेको छ भने बिटुमिनको मूल्य प्रतिकिलो ७५ रुपैयाँबाट १५५ रुपैयाँ पुगेको छ। यस अवधिमा निर्माण व्यवसायीहरूले करिब १० अर्ब रुपैयाँभन्दा बढी नोक्सानी व्यहोरेको अनुमान पनि प्रस्तुत गरिएको छ।

सार्वजनिक खरिद ऐन २०६३ अनुसार मूल्यवृद्धि भएअनुसार अनिवार्य रूपमा मूल्य समायोजन गर्नुपर्ने कानुनी व्यवस्था भए पनि व्यवहारमा सो लागू नभएको निर्माण व्यवसायीहरूको गुनासो छ। उनीहरूले सबै ठेक्कामा मूल्य समायोजनको परिपत्र जारी गर्न सरकारसँग बारम्बार माग गर्दै आएका छन्।

महासंघले भारतलगायत अन्य देशमा मूल्यवृद्धि अनुसार समायोजन भइरहेको अवस्थामा नेपालमा भने त्यसअनुसार नहुँदा निर्माण कार्य नै ठप्प हुने अवस्था सिर्जना भएको बताएको छ। अन्त्यमा महासंघले सरकार र सम्बन्धित निकायलाई तत्काल मूल्य समायोजनको व्यवस्था गरी निर्माण उद्योगलाई धराशयी हुनबाट जोगाउन आग्रह गरेको छ।