लगातार दोस्रो जितसहित नेपाल महिला टोली सेमिफाइनलमा

User Image Prime TV News ३ घण्टा अगाडि
Image of लगातार दोस्रो जितसहित नेपाल महिला टोली सेमिफाइनलमा

काठमाडौ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसियन गेम्स महिला छनोट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। बिहीबार इन्डोनेसियाविरुद्ध चार विकेटको जित निकाल्दै नेपाल समूह ‘बी’ को शीर्ष स्थानमा रहँदै अन्तिम चारमा पुगेको हो।

नेपालले दुई खेलबाट चार अंक जोड्दै अपराजित यात्रा कायम राखेको छ। चीन दोस्रो स्थानमा रहँदै सेमिफाइनल पुगेको छ भने इन्डोनेसिया समूह चरणबाटै बाहिरिएको छ। मलेसियाको वायोमास ओभलमा इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाइन्। सोनी पाख्रिनले २९ रन जोडिन् भने कविता कुँवरले १४ रनको योगदान दिइन्। सीता रानामगर १३ रनमा नटआउट रहिन्। यसअघि टस जितेर ब्याटिङ गरेको इन्डोनेसियाले २० ओभरमा ४ विकेट गुमाएर ११३ रन बनाएको थियो। इन्डोनेसियाकी कप्तान नि पुतु आयु नन्द सकरिनीले अविजित ५६ रन बनाइन्।

नेपालका लागि मनिषा उपाध्यायले दुई विकेट लिइन् भने रिया शर्माले एक विकेट हात पारिन्। समूह ‘ए’ बाट थाइल्यान्ड र मलेसिया सेमिफाइनलमा पुगेका छन्।