मिटरब्याज पीडितद्वारा धनुषा जिल्ला अदालत घेराउ गर्ने घोषणा

User Image Prime TV News एक महिना अगाडि
Image of मिटरब्याज पीडितद्वारा धनुषा जिल्ला अदालत घेराउ गर्ने घोषणा

काठमाडौ । मिटरब्याज पीडितहरूले आगामी जेठ १९ गते धनुषा जिल्ला अदालत घेराउ गर्ने भएका छन्।

बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपाल मिथिला कमान्डले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेको हो। मिथिला कमान्डका इन्चार्ज मोहन महतोले मिथिला कमान्ड र भोजपुरा कमान्डको नेतृत्वमा शान्तिपूर्ण रूपमा अदालत घेराउ गरिने जानकारी दिए।

उनका अनुसार पीडितहरू विगत १२ दिनदेखि आन्दोलनरत भए पनि राज्य पक्षले मागप्रति गम्भीर चासो नदेखाएको आरोप लगाए। महतोले मिटरब्याज पीडितको समस्या समाधानका लागि पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको भन्दै आन्दोलनलाई थप सशक्त बनाउन लागिएको बताए।

उनले जेठ १९ गते हुने अदालत घेराउ कार्यक्रममा मधेस प्रदेशभरबाट ८ देखि १० हजार पीडित सहभागी हुने दाबी गरे। पीडितहरूले मिटरब्याजसम्बन्धी विवादमा न्याय र कानुनी संरक्षणको माग गर्दै विभिन्न चरणमा आन्दोलन गर्दै आएका छन्।