प्रधानमन्त्रीले गणतन्त्र दिवस समारोहमा नबोल्ने निर्णयप्रति कांग्रेसको आपत्ति
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने निर्णयप्रति आपत्ति जनाएको छ।
बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्रीको निर्णयलाई जनताप्रति गैरजिम्मेवार र अनुत्तरदायी व्यवहारको रूपमा टिप्पणी गरेको हो। बैठकपछि प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्रीले सम्बोधन नगर्ने भए त्यसको कारण सार्वजनिक गर्नुपर्ने बताइन्।
कारण नखुलाई कार्यक्रममा नबोल्ने निर्णय गर्नु उचित नभएको कांग्रेसको धारणा रहेको उनले बताइन्। प्रधानमन्त्री शाहले गणतन्त्र दिवस समारोहमा सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको जनाइएको छ।
बैठकमा कांग्रेसले सरकारको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाएको छ। दुई तिहाइ बहुमतको बलमा सरकारले विपक्षीसँग पर्याप्त छलफल नगरी निर्णय अघि बढाएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो। कांग्रेसले सरकारका पछिल्ला गतिविधिका कारण जनतामा निराशा बढ्दै गएको निष्कर्षसमेत निकालेको छ।
त्यस्तै बैठकमा संसदीय दलको कार्यसमिति गठन तथा संसद्का विषयगत समितिमा पार्टीको धारणा तय गर्ने विषयमा छलफल भए पनि कुनै निर्णय नभएको जनाइएको छ।







