कांग्रेसले सात विषयगत उपसमिति गठन, विभिन्न क्षेत्रका विज्ञलाई संयोजक जिम्मेवारी

User Image Prime TV News २ घण्टा अगाडि
Image of कांग्रेसले सात विषयगत उपसमिति गठन, विभिन्न क्षेत्रका विज्ञलाई संयोजक जिम्मेवारी

काठमाडौ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सात वटा विषयगत उपसमिति गठन गर्दै संयोजक तोकेको छ।

कांग्रेसले नीति निर्माण, अनुसन्धान र प्रशिक्षणलाई थप प्रभावकारी बनाउन उपसमिति गठन गरेको हो। प्रतिष्ठानले ‘नीति, दृष्टि र योजना’ उपसमितिको संयोजकमा प्रा. डा. गोविन्दराज पोख्रेललाई चयन गरेको छ। सो उपसमितिले पार्टीको दीर्घकालीन नीति र योजनासम्बन्धी काम गर्ने बताइएको छ।

त्यसैगरी जलवायु परिवर्तन सचेतना उपसमितिको संयोजक रोशनी गिरीलाई तोकिएको छ। उक्त उपसमितिले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर न्यूनीकरणदेखि वातावरण संरक्षणसम्बन्धी अभियान सञ्चालन गर्नेछ। ‘नवयुवा भावना, मुद्दा र अन्तरपुस्ता संवाद तथा समन्वय’ उपसमितिको संयोजकमा मीनबहादुर भाम चयन भएका छन्।

अनौपचारिक क्षेत्रका श्रमिकसँग सम्बन्धित नीति र न्यायसम्बन्धी उपसमितिको संयोजक जिम्मेवारी महेन्द्र यादवलाई दिइएको छ। बालअधिकार उपसमितिको संयोजकमा उमंग लोहनी, सार्वजनिक सेवा प्रवाहसम्बन्धी उपसमितिको संयोजक गोपालप्रसाद पोख्रेल र गैरसरकारी संस्था नीति संवाद तथा समन्वय उपसमितिको संयोजक अञ्जु झालाई तोकिएको छ।

प्रतिष्ठानले उपसमितिहरूले अध्ययन, अनुसन्धान र नीति संवादमार्फत पार्टीको वैचारिक तथा संस्थागत विकासमा योगदान पुर्‍याउने जनाएको छ।