मानव अधिकार आयोगको सिफारिसपछि सांसद गणेश कार्कीको आपत्ति

User Image Prime TV News ३ घण्टा अगाडि
Image of मानव अधिकार आयोगको सिफारिसपछि सांसद गणेश कार्कीको आपत्ति

काठमाडौ । गत वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीको भूमिका शंकास्पद देखिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले छानबिनका लागि सरकारलाई सिफारिस गरेपछि उनले आपत्ति जनाएका छन्।

आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा कार्कीसहित केही सांसदहरूको भूमिकाबारे अनुसन्धान गर्नुपर्ने उल्लेख गरिएको छ। सोही सिफारिसपछि सांसद कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै असन्तुष्टि व्यक्त गरेका हुन्।

उनले भने 'मानव अधिकार आयोगले कुन प्रमाण भेट्यो, सार्वजनिक गरोस् । मैले कुनै ठाउँमा उत्तेजक भाषण दिएँ कि, कुनै ठाउँमा ढुंगा हान्दै गरेको भेटिएँ कि, कुनै ठाउँ जलाउँदै गरेको वा जलाए पछि पुगेको वा निस्किदै गरेको कुनै प्रमाण छ कि, के छ मेरोबारेमा त्यो प्रमाण सार्वजनिक गरोस् र ममाथिको अनुसन्धान मानव अधिकार आयोगसँग भएको प्रमाणकै आधारबाट अगाडि बढोस् । ममाथि अनुसन्धान हुनु पर्छ । '

आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा तयार गरिएको प्रतिवेदनमा जेनजी आन्दोलनका क्रममा मानव अधिकार उल्लङ्घन भएको निष्कर्ष निकाल्दै विभिन्न व्यक्तिमाथि छानबिन र आवश्यक परे कारबाही गर्न सरकारलाई सिफारिस गरिएको छ।

प्रतिवेदनमा रास्वपाका सभापति रवि लामिछानेसहित केही सांसदहरूले आन्दोलनका क्रममा भूमिका खेलेको, प्रशासनिक प्रक्रियामा संलग्न भएको र भीडलाई उक्साएको जस्ता विषय उल्लेख गरिएको छ। आयोगको सिफारिसपछि राष्ट्रिय स्वतन्त्र पार्टीले भने यस विषयमा औपचारिक धारणा सार्वजनिक गरेको छैन।

सरकारलाई पठाइएको प्रतिवेदन कार्यान्वयन भए दोषी देखिएकामाथि कानुनी कारबाही अघि बढ्न सक्ने उल्लेख छ।