आइतबार विद्यालय बिदा निर्णयविरुद्ध उपत्यका मेयर्स फोरमको आपत्ति, सरकारसँग फिर्ता लिन माग
Prime TV News ५ घण्टा अगाडि 
काठमाडौ । उपत्यका मेयर्स फोरमले केन्द्र सरकारले आइतबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेकोप्रति आपत्ति जनाउँदै निर्णय फिर्ता लिन माग गरेको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिकामा बसेको फोरमको बैठकले उक्त निर्णय संविधान र शिक्षा ऐनविपरीत भएको निष्कर्ष निकाल्दै स्थानीय तहको अधिकार कुण्ठित भएको आरोप लगाएको छ। फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले केन्द्र सरकारको निर्णयले स्थानीय तहको शैक्षिक योजना प्रभावित भएको बताए।
उनका अनुसार शिक्षा ऐनअनुसार विद्यालय वर्षमा २२० दिन सञ्चालन हुनुपर्ने व्यवस्था भए पनि आइतबार बिदा थपिँदा अध्ययन–अध्यापनका दिन घट्ने अवस्था आएको छ। उनले स्थानीय तहले पहिले नै शैक्षिक क्यालेन्डर बनाइसकेको अवस्थामा केन्द्रको निर्णयले व्यवहारिक समस्या सिर्जना गरेको भन्दै सरकारलाई पुनर्विचार गर्न आग्रह गरिएको जानकारी दिए।
फोरमका अनुसार संविधानको अनुसूची–८ ले आधारभूत शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ। तर केन्द्र सरकारको पछिल्लो निर्णयले सो अधिकारमा हस्तक्षेप भएको बैठकको निष्कर्ष छ। बैठकले आवश्यक परे कानुनी प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएको छ। साथै विषयको थप अध्ययन गरी आगामी रणनीति तय गर्न सचिवालयलाई जिम्मा दिइएको छ।
त्यसैगरी स्थानीय तहअन्तर्गतका कार्यालय भवन, अस्पताल र सामाजिक सेवासम्बन्धी संरचनाको स्वामित्व स्थानीय तहलाई हस्तान्तरण गर्न पनि सरकारसँग माग गरिएको छ। देशका केही स्थानीय तहले भने केन्द्रको निर्णयका बाबजुद आइतबार विद्यालय सञ्चालन गरिरहेका छन्।







