बजेटका कारण भन्सार जाँचपास एक दिन बन्द हुने

User Image Prime TV News ५ घण्टा अगाडि
Image of बजेटका कारण भन्सार जाँचपास एक दिन बन्द हुने

काठमाडौ । भन्सार विभागले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुने दिन (१५ जेठ) देशभरका सबै भन्सार कार्यालयहरूमा मालवस्तुको जाँचपास सेवा बन्द गर्ने निर्णय गरेको छ।

विभागले सबै भन्सार कार्यालयलाई सर्कुलर जारी गर्दै सो दिन यात्रु जाँचपास बाहेक अन्य कुनै पनि सामानको जाँचपास नगर्न निर्देशन दिएको छ। बजेट घोषणा हुने दिन कर प्रणालीमा परिवर्तन हुने भएकाले काम प्रभावित हुन सक्ने भन्दै यस्तो निर्णय गरिएको हो।

त्यस्तै, १६ जेठदेखि भन्सार जाँचपास गर्दा नयाँ बजेट अनुसार कर दर र नियमहरू अद्यावधिक भए/नभएको सुनिश्चित गरेर मात्र काम गर्न भनिएको छ। विभागले १४ जेठसम्म दर्ता भएका प्रज्ञापनपत्रहरू सोही दिनभित्र जाँचपास गर्न पनि निर्देशन दिएको छ। त्यसपछि कर दर परिवर्तन भएमा नयाँ दर अनुसार महसुल लिएर मात्र जाँचपास गर्नुपर्ने व्यवस्था गरिएको छ।

भन्सार विभागले नयाँ बजेट लागू भएपछि सबै प्रक्रिया प्रणालीमा ठीकसँग अद्यावधिक गरेर मात्र जाँचपास गर्नुपर्ने जनाएको छ।