विदेशी मेलमिलापलाई नेपालमा मान्यता दिने तयारी
Prime TV News ३ घण्टा अगाडि 
काठमाडौ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले विदेशमा सम्पन्न भएका मेलमिलापलाई नेपालमा समेत कार्यान्वयन गर्न सकिने व्यवस्था गर्दै मेलमिलाप सम्बन्धी ऐन २०६८ संशोधनको तयारी अघि बढाएको छ।
मन्त्रालयले तयार पारेको संशोधन विधेयकमा विदेशमा भएको मेलमिलापको लिखतलाई निश्चित शर्त पूरा भएमा नेपालमा कानुनी मान्यता दिई कार्यान्वयन गर्न सकिने प्रावधान प्रस्ताव गरिएको छ। विधेयकको दफा ३१ अनुसार नेपाल कुनै अन्तर्राष्ट्रिय सन्धिको पक्ष राष्ट्र भएको अवस्थामा, त्यस्तो सन्धिमा आबद्ध विदेशी मुलुकमा सम्पन्न मेलमिलापको लिखत नेपालमा पनि लागू गर्न सकिने व्यवस्था गरिएको छ।
प्रस्तावित कानुनअनुसार मेलमिलाप सम्बन्धित मुलुकको कानुन र प्रक्रिया अनुसार भएको हुनुपर्नेछ। साथै, सो लिखत सम्बन्धित देशको कानुनबमोजिम अन्तिम र बन्धनकारी भइसकेको हुनुपर्ने शर्त राखिएको छ। त्यस्तै, निवेदन दिने पक्षको देश वा मेलमिलाप सम्पन्न भएको देशको कानुनमा नेपालमा भएको मेलमिलाप कार्यान्वयन गर्न सकिने व्यवस्था हुनुपर्ने उल्लेख गरिएको छ।
विदेशी मेलमिलाप कार्यान्वयन गराउन चाहने पक्षले मेलमिलापको सक्कल लिखत वा प्रमाणित प्रतिलिपि पेश गर्नुपर्नेछ। लिखत नेपाली भाषामा नभए आधिकारिक नेपाली अनुवादसमेत संलग्न गर्नुपर्ने प्रस्ताव गरिएको छ।
विधेयकमा मेलमिलापको लिखत तयार भएको ९० दिनभित्र जिल्ला अदालतमा निवेदन दिनुपर्ने व्यवस्था पनि राखिएको छ। अदालत सन्तुष्ट भएमा त्यस्तो मेलमिलाप कार्यान्वयन गर्न आदेश दिन सक्नेछ। तर, नेपाल कानुनअनुसार मेलमिलापबाट समाधान गर्न नमिल्ने विवाद वा सार्वजनिक नीतिविरुद्ध हुने विषयमा भएको मेलमिलाप भने कार्यान्वयन नहुने स्पष्ट व्यवस्था विधेयकमा गरिएको छ।






.jpeg)
