सुरक्षा घेराबीच लम्कीचुहा प्रादेशिक अस्पताल उद्घाटन
Prime TV News ४ घण्टा अगाडि 
कैलाली । लामो समयदेखि स्थानीय सरकार र प्रदेश सरकारबीच विवाद रहँदै आएको लम्कीचुहा प्रादेशिक अस्पताल अन्ततः बिहीबार उद्घाटन गरिएको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कडा सुरक्षा व्यवस्थाबीच अस्पतालको औपचारिक उद्घाटन गरेका हुन्। अस्पताल सञ्चालनको विषयलाई लिएर विवाद चर्किरहेका बेला उद्घाटन कार्यक्रम तय गरिएकाले बिहानैदेखि अस्पताल परिसर र आसपासका क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको थियो।
सम्भावित प्रदर्शन र अवरोधलाई ध्यानमा राख्दै प्रशासनले सुरक्षा सतर्कता बढाएको जनाएको छ। १५ शय्याको उक्त अस्पताल सञ्चालनबारे लम्कीचुहा नगरपालिका र प्रदेश सरकारबीच सहमति जुट्न सकेको छैन।
प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयले गत वैशाखमा मेडिकल सुपरिटेन्डेन्ट डा. कमलेशप्रसाद यादवसहित तीन कर्मचारी अस्पतालमा खटाएको थियो। तर नगरपालिकाले अस्पताल अझै प्रदेश सरकारलाई हस्तान्तरण नभएको दाबी गर्दै कर्मचारीलाई हाजिर हुन नदिएपछि विवाद उत्कर्षमा पुगेको थियो।
विवादकै कारण गत वैशाख ३० गते अस्पतालमा तालाबन्दीसमेत गरिएको थियो। त्यसपछि स्थानीय स्तरमा तनाव बढेको थियो भने अस्पताल सञ्चालन अनिश्चित बनेको थियो। स्थानीयवासीले मुख्यमन्त्री शाह र नगर प्रमुख सुशीला शाही बीचको राजनीतिक तथा प्रशासनिक मतभेदले समस्या जटिल बनेको आरोप लगाएका छन्।
मेयर शाही हाल विदेशमा रहेकाले उद्घाटन कार्यक्रममा उपस्थित थिइनन्।






.jpeg)
