ट्रेड युनियन अधिकार जोगाउन काठमाडौंमा खबरदारी र्याली
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिको आयोजनामा ट्रेड युनियन अधिकार कायम राख्न तथा आगामी बजेट श्रमिकमैत्री बनाउन माग गर्दै बिहीबार काठमाडौंमा खबरदारी र्याली निकालिएको छ।
माइतीघर मण्डलाबाट सुरु भएको र्याली बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो। र्यालीमा सहभागी श्रमिक तथा ट्रेड युनियनकर्मीहरूले श्रमिक अधिकार संरक्षण, रोजगारीको सुरक्षा र सामाजिक सुरक्षाको सुनिश्चितता गर्न सरकारसँग माग गरेका थिए।
कार्यक्रममा बोल्दै युनियनका प्रतिनिधिहरूले सरकारले ट्रेड युनियन अधिकार कमजोर पार्ने तथा खारेज गर्ने दिशामा कदम चाल्न खोजेको आरोप लगाए। उनीहरूले संविधानले प्रत्याभूत गरेको श्रमिकको संगठन गर्ने अधिकार कुनै पनि हालतमा कटौती गर्न नहुने बताएका छन्।
युनियनले आगामी आर्थिक वर्षको बजेट श्रमिकमैत्री बनाउन, न्यूनतम पारिश्रमिक वृद्धि गर्न, अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा समेट्न तथा श्रम ऐनको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ। र्यालीका कारण केही समय माइतीघर–बानेश्वर सडक क्षेत्रमा सवारी आवागमन प्रभावित भएको थियो।







