देशका धेरै क्षेत्रमा बदली, केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना
Prime TV News ६ घण्टा अगाडि 
काठमाडौ । देशभर अहिले पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय प्रणालीको प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको असरले देशका पहाडी र हिमाली क्षेत्रमा बदली बढेको छ भने केही स्थानमा वर्षा भइरहेको छ ।
हाल कोशी प्रदेशसहित पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । मधेश प्रदेशमा आंशिक बदली रहेको छ भने अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा छ ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा बदली रहने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ ।
यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि थोरै स्थानमा वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन् । बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा समेत एक–दुई स्थानमा पानी पर्ने अनुमान छ । महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने आज गर्मी बढ्ने सम्भावना रहेको छ ।
आज राति पनि देशभर सामान्य बदली रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।






.jpeg)
