इरानसँगको सम्झौतामा अझै सहमति भएन : ट्रम्प

User Image Prime TV News ८ घण्टा अगाडि
Image of इरानसँगको सम्झौतामा अझै सहमति भएन : ट्रम्प

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको वार्तामा अझै पूर्ण सहमति नभएको बताएका छन् । उनले सम्झौताका केही विषयमा अमेरिका सन्तुष्ट नभएको भन्दै आवश्यक परे फेरि सैन्य कारबाही हुन सक्ने चेतावनी दिएका छन्  ।

सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरान जसरी पनि सम्झौता गर्न चाहिरहेको बताए । उनका अनुसार इरान अहिले कमजोर अवस्थामा भएकाले वार्तामा दबाबमा परेको छ ।

यसअघि इरानी सरकारी टेलिभिजनले सम्भावित सम्झौताको मस्यौदा सार्वजनिक गरेको थियो । त्यसमा हर्मुज जलडमरुमध्य पुनः खोल्ने र अमेरिकी सेना फिर्ता हुने विषय उल्लेख गरिएको दाबी गरिएको थियो । तर ह्वाइट हाउसले उक्त विवरण गलत भएको जनाएको छ ।

पछिल्ला दिनमा दुवै देशबीच वार्ता सकारात्मक दिशामा अघि बढेको संकेत देखिए पनि तत्काल सम्झौता हुने अवस्था नरहेको बताइएको छ । ट्रम्पले आफ्ना वार्ताकारलाई हतार नगर्न निर्देशन दिएको पनि बताएका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि वार्तामा केही प्रगति भएको बताएका छन् । उनले आगामी केही दिनभित्र थप स्पष्ट हुने बताएका छन् । तर दुवै देशबीच कुन विषयमा विवाद बाँकी छ भन्नेबारे खुलाइएको छैन ।