आज बकर इद, देशभर धार्मिक श्रद्धा र उत्साहका साथ मनाइँदै
Prime TV News १० घण्टा अगाडि 
काठमाडौ । मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद (इदुल जोहा) आज देशभर धार्मिक श्रद्धा र उत्साहका साथ मनाइँदैछ । पर्वका अवसरमा बिहानैदेखि मस्जिद र इदगाहमा नमाज पढ्न जाने श्रद्धालुको भीड लागेको छ ।
काठमाडौको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका प्रमुख मस्जिदमा मुस्लिम समुदाय भेला भएर सामूहिक नमाज अदा गरेका छन् । नमाजपछि एकअर्कामा शुभकामना आदानप्रदान गर्ने तथा सुख–शान्तिको कामना गर्ने परम्परा निभाइएको छ ।
धार्मिक मान्यताअनुसार इब्राहिम अलैह सलामले अल्लाहको आदेश पालनाका लागि आफ्ना छोरा इस्माइललाई कुर्बानी दिन तयार भएको सम्झनामा बकर इद मनाउने गरिन्छ । मुस्लिम समुदायले यसलाई त्याग, समर्पण र विश्वासको प्रतीकका रूपमा लिने गरेका छन् ।
पर्वका अवसरमा मुस्लिम धर्मावलम्बीले धार्मिक विधिअनुसार जायज जनावरको कुर्बानी दिने चलन छ । कुर्बानी गरिएको मासु गरिब, आफन्त र आफ्ना परिवारबीच बाँडेर खाने परम्परा रहेको छ ।
मुस्लिम धर्मगुरुहरूका अनुसार बकर इद केवल पर्व मात्र नभई मानवता, सहयोग र सामाजिक सद्भावको सन्देश दिने अवसर पनि हो । यही कारण मुस्लिम समुदायले तीन दिनसम्म यो पर्व मनाउने गर्छन् ।
बकर इदको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।







