संसद भवन आगलागी घटनामा ‘टीओबी ग्रुप’ सक्रिय, प्रदर्शन हिंसात्मक बनेको निष्कर्ष
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा संसद भवनमा भएको आगजनी प्रयास र झडपबारे सार्वजनिक गरेको प्रतिवेदनमा “टीओबी ग्रुप” नामको बाइकर समूहको भूमिका देखिएको उल्लेख गरेको छ।
प्रतिवेदनअनुसार “टीओबी” लेखिएको कालो टीसर्ट लगाएका र शरीरमा सोही नामको ट्याटु भएका करिब १५ देखि २० जनाको समूह प्रदर्शनस्थलमा देखिएको थियो। उनीहरूले भिडलाई अघि बढ्न उक्साउने र स्थिति थप तनावपूर्ण बनाउने काम गरेको आयोगको विश्लेषण छ।
आयोगका अनुसार बबरमहल र बिजुलीबजार हुँदै नयाँ बानेश्वरस्थित एभरेष्ट होटलअघि पुग्दा प्रदर्शनकारीको संख्या करिब २० देखि २५ हजार पुगेको थियो। सोही समयमा उक्त बाइकर समूह सक्रिय भएको र भीडलाई निषेधित क्षेत्रमा अघि बढ्न प्रेरित गरेको प्रतिवेदनमा उल्लेख छ।
त्यसपछि “हामी नेपाल” संस्थाका सुधन गुरुङले भीडको नेतृत्व लिएपछि प्रदर्शन अझ आक्रामक बनेको र प्रदर्शनकारीहरूले प्रहरी ब्यारिकेड तोड्ने प्रयास गरेको आयोगको निष्कर्ष छ। त्यसपछि सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भई स्थिति हिंसात्मक बनेको प्रतिवेदनमा भनिएको छ।
प्रतिवेदनले केही समूहले शान्तिपूर्ण भनिएको प्रदर्शनलाई नियन्त्रणमा लिएर विद्यार्थीलाई “ढाल” को रूपमा प्रयोग गरेको आरोपसमेत उल्लेख गरेको छ। साथै, संसद भवनतर्फ ढुंगामुडा गर्दै आगजनी प्रयास भएको र त्यस क्रममा ठूलो धनजनको क्षति भएको आयोगको विश्लेषण छ।
आयोगले घटनामा विभिन्न समूहको प्रवेश, नेतृत्वको अस्पष्टता र नियन्त्रणको अभावका कारण प्रदर्शन हिंसात्मक बनेको निष्कर्ष निकालेको छ।







