जेनजी अभियन्ता रक्षा बम, जस्मिन ओझा र सुधन गुरुङ विवाद, घुसपैठ र हिंसात्मक मोडबारे खुलासा

User Image Prime TV News २ घण्टा अगाडि
Image of जेनजी अभियन्ता रक्षा बम, जस्मिन ओझा र सुधन गुरुङ विवाद, घुसपैठ र हिंसात्मक मोडबारे खुलासा

काठमाडौ । राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनको क्रममा भएको घटनाबारे तयार पारेको छानबिन प्रतिवेदनमा आन्दोलनको नेतृत्व, व्यवस्थापन र पछिल्ला हिंसात्मक घटनासम्बन्धी महत्वपूर्ण निष्कर्ष सार्वजनिक गरेको छ।

प्रतिवेदनअनुसार २०८२ भदौ २३ गते माइतीघरमा भेला भई शान्तिपूर्ण प्रदर्शन गर्ने भनिएको समूहभित्रै आन्तरिक विवाद देखिएको थियो। जेनजी अभियन्ता रक्षा बम, जस्मिन ओझा लगायतको समूह र “हामी नेपाल” का सुधन गुरुङबीच प्रदर्शनस्थलमा टेन्ट, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स र माइकिङ व्यवस्थापनलाई लिएर केही समय विवाद भएको उल्लेख गरिएको छ।

आयोगले प्रतिवेदनमा उल्लेख गरेअनुसार, सुरुवातमा शान्तिपूर्ण भनिएको प्रदर्शन पछि नयाँ बानेश्वरतर्फ अघि बढ्दै जाँदा प्रहरी ब्यारिकेड तोडिएको र त्यसपछि स्थिति उत्तेजक तथा हिंसात्मक बनेको देखिएको छ।

सुरक्षाफौजका पदाधिकारीहरूको बयानलाई उद्धृत गर्दै प्रतिवेदनमा प्रदर्शनमा “गलत तत्वको घुसपैठ” भएको दाबी गरिएको छ। तर त्यस्ता तत्वलाई रोक्न आयोजकहरूले के-कस्तो प्रयास गरे भन्ने स्पष्ट विवरण नदेखिएको पनि आयोगले जनाएको छ।

त्यसैगरी, शान्तिपूर्ण प्रदर्शनका लागि अनुमति लिइएको भए पनि प्रदर्शनअघि नै टेन्ट, एम्बुलेन्स र स्वास्थ्य स्वयंसेवकहरूको व्यवस्था किन गरिएको थियो भन्ने प्रश्नमा आयोजकहरूले ठोस जवाफ दिन नसकेको प्रतिवेदनमा उल्लेख छ।

आयोगले घटनाको क्रममा भएको धनजनको क्षतिको जिम्मेवारीबारे बोल्दै आयोजकहरूको पनि जवाफदेहिता रहने निष्कर्ष निकालेको छ। साथै, सुरक्षानिकायले पनि सम्भावित जोखिमको पर्याप्त मूल्यांकन र तयारी गर्न नसकेको उल्लेख गर्दै राज्य पक्षको कमजोरीतर्फ पनि संकेत गरेको छ।

प्रतिवेदनले घटनालाई योजनाबद्ध वा आकस्मिक जुनसुकै रूपमा भए पनि, व्यवस्थापन र नियन्त्रण दुवै पक्षबाट कमजोरी भएको निष्कर्ष निकालेको छ।

घटनाबारे विस्तृत विवरण सार्वजनिक भएसँगै जेनजी आन्दोलनको वास्तविक स्वरूप, नेतृत्व र जिम्मेवारीबारे थप बहस सुरु भएको छ।