जेनजी आन्दोलनमा राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न सेनाको कमजोरी भएको मानव अधिकार आयोगको निष्कर्ष
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोग ले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा देशभर भएको क्षति नियन्त्रणमा सुरक्षा निकायको कमजोरी देखिएको निष्कर्ष निकालेको छ।
आयोगकी सदस्य डा. लिली थापाको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनअनुसार आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवनलगायत संरचनामा भएको तोडफोड र आगजनी रोक्न सुरक्षा व्यवस्था प्रभावकारी हुन नसकेको देखिएको हो।
प्रतिवेदनमा राष्ट्रिय सम्पत्तिको सुरक्षा तथा नागरिकको मानव अधिकार संरक्षणमा अपेक्षित संवेदनशीलता नदेखिएको उल्लेख गर्दै भविष्यमा यस्ता घटनामा थप तयारी र जिम्मेवारी आवश्यक रहेको सुझाव दिइएको छ। आयोगले नेपाली सेनालाई राष्ट्रिय सम्पत्तिको संरक्षणमा अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएको छ। साथै, सम्बन्धित निकायका कमाण्डरहरूलाई सचेत गराउन सरकारको ध्यानाकर्षण गराइएको छ।
आयोगले सुरक्षा व्यवस्थामा सुधार गर्दै नागरिक अधिकार र सार्वजनिक सम्पत्तिको संरक्षणलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह पनि गरेको छ।







