मानव अधिकार आयोगको ठहर: ओली, लेखक र गुरुङ मानव अधिकार उल्लंघनमा जिम्मेवार
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वसूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई मानव अधिकार उल्लंघन गरेको ठहर गरेको छ।
आयोगले भदौ २३ र २४ गते भएको घटनाबारे तयार अनुसन्धान प्रतिवेदनका आधारमा उनीहरूलाई मानव अधिकार उल्लंघनकर्ता भनेर किटान गरेको हो। लिली थापाको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनमा आधारित भएर आयोगले करिब १ हजार पृष्ठको अध्ययनपछि निष्कर्ष निकालेको जनाएको छ।
आयोगले संविधानको धारा २४९ अनुसार उनीहरूविरुद्ध कानुनी प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गरेको छ। साथै आवश्यक परे अदालतमा मुद्दा दायर गर्नसमेत सुझाव दिएको छ। मानव अधिकार उल्लंघनका लागि स्पष्ट कानुनी व्यवस्था नभएकाले पश्चातदर्शी कानून बनाएर कारबाही गर्नुपर्ने सुझाव पनि आयोगले दिएको छ।
त्यसैगरी दोषी ठहरिएका व्यक्तिलाई राजनीतिक नियुक्ति वा निर्वाचित पदका लागि कम्तीमा ५ वर्ष अयोग्य बनाउने, प्रशासनिक जिम्मेवारीमा ३ वर्ष रोक लगाउने तथा विदेश भ्रमणमा समेत प्रतिबन्ध लगाउने व्यवस्था गर्न सिफारिस गरिएको छ।
थापा संयोजकत्वको अनुसन्धान समितिले ६ चैतमा महिनाअघि नै अनुसन्धान प्रतिवेदन पेश गरे पनि आयोगले मंगलबार मात्रै उनीहरूलाई कारबाही सिफारिस गर्ने निर्णय गरेको हो । आयोगले बुधवार आफ्नो सिफारिस प्रधानमन्त्री कार्यालयमा बुझाइसकेको छ ।







