कोसी प्रदेश सभामा नीति तथा कार्यक्रम विवाद, विपक्षीले सदन अवरुद्ध गरे
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । कोसी प्रदेश सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई लिएर सत्ता र विपक्षबीच विवाद चर्किएको छ। बुधबार बसेको बैठकमा विपक्षी सांसदहरूले संशोधन हाल्न नदिएको भन्दै विरोध जनाएका छन् भने पूर्वमुख्यमन्त्रीले माइक भाँचेका छन्।
नेपाल कम्युनिस्ट पार्टीका सांसदहरूले नीति तथा कार्यक्रममाथि संशोधन दर्ता गर्न पर्याप्त समय नदिएको आरोप लगाउँदै रोस्ट्रम घेराउ र नाराबाजी गरेका हुन्। प्रदेश प्रमुख पर्शुराम खापुङले जेठ ७ गते नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्यसपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उठेका प्रश्नहरूको जवाफ दिएका थिए।
सभामुख अम्बरबहादुर विष्टले नीति तथा कार्यक्रम निर्णायार्थ प्रस्तुत गरेपछि मत विभाजनमार्फत पारित गरिएको थियो। तर विपक्षी सांसदहरूले प्रक्रिया गलत भएको भन्दै आपत्ति जनाएका छन्। नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संशोधन दर्ता गर्ने अवसर नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
विवादकै क्रममा पूर्वमुख्यमन्त्री तथा प्रदेशसभा सदस्य राजेन्द्रकुमार राईले रोस्ट्रममै पुगेर माइक भाँचेका छन्। त्यसपछि सभामुखले सदन सुचारु गराउन प्रयास गरे पनि स्थिति नियन्त्रण बाहिर गएको थियो।







