गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन आवश्यक छः डा. रामवरण यादव
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने बताएका छन्।
नेपाल प्रेस युनियनको ३५ औँ स्थापना दिवस तथा विधान सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले राष्ट्रको भविष्य र नीतिगत दिशाबारे स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नुपर्ने बताए। उनका अनुसार आर्थिक अवस्था, सामाजिक विकास, स्वास्थ्य, शिक्षा, कृषि, भौतिक पूर्वाधार र अन्तर्राष्ट्रिय सम्बन्धजस्ता विषयमा प्रधानमन्त्रीको धारणा जनताले सुन्न चाहेका छन्।
‘हाम्रो संघर्षको उपलब्धि जुन छ, उहाँले के भन्नुहुन्छ यसबारेमा । देशको आर्थिक अवस्था कसरी अगाडि लैजाने, देशको सामाजिक अवस्थालाई कसरी लैजाने ?,’ उनले भने, ‘स्वास्थ्य, शिक्षा र कृषिमा के गर्ने, भौतिक पूर्वाधारलाई कसरी लग्ने, अन्तर्राष्ट्रिय सम्बन्ध कस्तो हुने, त्यो मञ्चबाट गणतन्त्र दिवसको उपलक्ष्यमा प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्ने हो ।’
रामवरण यादवले जनतामा प्रधानमन्त्रीको दृष्टिकोणप्रति ठूलो चासो रहेको भन्दै गणतन्त्र दिवसमा त्यस्तो सम्बोधन उपयुक्त हुने बताए। उनले गणतन्त्र दिवसका औपचारिक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्षता गर्नु स्वाभाविक भए पनि संसदीय प्रणालीमा कार्यकारी भूमिका प्रधानमन्त्रीकै हुने भएकाले जनतासँग प्रत्यक्ष संवाद आवश्यक रहेको धारणा व्यक्त गरे।
‘मैले हिजो कि अस्ति पेपरमा पढेँ कि राष्ट्रपतिले गणतन्त्र दिवसमा अध्यक्षता गर्ने । ठीक छ, राष्ट्रपतिले अध्यक्षता गर्न हुन्छ,’ उनले भने, ‘तर, संसदीय प्रणालीमा प्रधानमन्त्री नै कार्यकारी पद हो । प्रधानमन्त्रीले संसद्मा आउनुपर्छ, संसद्लाई सम्बोधन गर्नुपर्छ ।’







