गोला प्रक्रिया हटाउने विषयमा छलफल नभएको सर्वोच्चको स्पष्टोक्ति

User Image Prime TV News एक घण्टा अगाडि
Image of गोला प्रक्रिया हटाउने विषयमा छलफल नभएको सर्वोच्चको स्पष्टोक्ति

काठमाडौ । सर्वोच्च अदालतले अदालतहरूमा लागू गरिएको ‘गोला प्रक्रिया’ हटाउने वा यसको विकल्प खोज्ने सम्बन्धमा कुनै पनि औपचारिक छलफल नभएको स्पष्ट पारेको छ।

अदालत प्रशासनले विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा यस विषयमा आएका समाचार तथा चर्चाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सर्वोच्चका अनुसार दैनिक मुद्दा पेसी व्यवस्थापनका लागि अपनाइएको गोला प्रक्रियाबारे हालसम्म कुनै आधिकारिक निर्णय वा छलफल नभएको र यसलाई परिवर्तन गर्ने कुनै धारणा समेत नरहेको स्पष्ट गरिएको छ।

अदालतले यस विषयमा फैलिएका समाचारहरू तथ्यमा आधारित नभएको भन्दै भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरेको छ। विगतदेखि ‘अदालतहरूमा गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापन सम्बन्धी कार्यविधि निर्देशिका, २०७८’ अनुसार मुद्दाको पेसी व्यवस्थापन हुँदै आएको छ।

यो प्रणाली न्यायालयमा पारदर्शिता कायम गर्न र सम्भावित चलखेल रोक्न लागू गरिएको हो।