मल अभावको जोखिम बढ्दै, पर्याप्त बजेट नहुँदा आपूर्ति प्रभावित हुने चेतावनी
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले रासायनिक मल खरिदका लागि पर्याप्त बजेट नहुँदा आपूर्ति प्रभावित भएको बताएका छन्।
संसदीय कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले सरकारले आवश्यक बजेट नछुट्याए आगामी वर्ष मलको गम्भीर संकट देखिन सक्ने चेतावनी दिएका हुन्। पोखरेलका अनुसार चालु आर्थिक वर्षमा मल खरिदका लागि २८ अर्ब ८२ करोड रुपैयाँ विनियोजन भए पनि कम्पनीले करिब २० अर्ब १७ करोड रुपैयाँ मात्र प्राप्त गरेको थियो।
सो बजेटबाट ३ लाख ५९ हजार मेट्रिक टन मल खरिद गरिएको उनले जानकारी दिए। योजना अनुसार ५ लाख ५० हजार मेट्रिक टन मल खरिद गर्ने लक्ष्य भए पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारण लक्ष्य पूरा हुन नसकेको उनले बताए। हाल कम्पनीसँग करिब १ लाख ५ हजार मेट्रिक टन मल मौज्दात रहेको छ, जुन असार अन्त्य वा साउन पहिलो सातासम्म मात्रै पुग्ने अवस्था रहेको उनको भनाइ छ।
पोखरेलले आगामी आर्थिक वर्षका लागि २ लाख १० हजार मेट्रिक टन मल खरिदको बोलपत्र आह्वान भइसकेको जानकारी पनि दिएका छन्। उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा युरिया र डिएपीको मूल्य तीव्र रूपमा बढेकाले आपूर्ति थप चुनौतीपूर्ण बनेको छ।
नेपालको वार्षिक मल आवश्यकता करिब ९ लाख मेट्रिक टन भए पनि सरकारले ४ देखि ५ लाख मेट्रिक टन मात्र बजेट छुट्याउने गरेको उनले बताए। उनले कम्तीमा ६ लाख मेट्रिक टन मल खरिद गर्न पुग्ने गरी ५० अर्ब रुपैयाँभन्दा बढी बजेट आवश्यक पर्ने सुझाव दिएका छन्।







