आर्थिक सर्वेक्षण प्रस्तुत: अर्थतन्त्र ३.८५% ले बढ्ने अनुमान

User Image Prime TV News २ घण्टा अगाडि
Image of आर्थिक सर्वेक्षण प्रस्तुत: अर्थतन्त्र ३.८५% ले बढ्ने अनुमान

काठमाडौ । अर्थ मन्त्री स्वर्णिम वाग्लेले संघीय संसदमा चालू आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन्। उनले विश्व अर्थतन्त्रमा अनिश्चितता भए पनि नेपालका आर्थिक सूचकहरूमा सुधार देखिएको बताएका छन्।

सर्वेक्षणअनुसार चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ। कुल अर्थतन्त्रको आकार करिब ६६ खर्ब रुपैयाँ पुग्ने र प्रतिव्यक्ति आय १,५३५ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ।

कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैर–कृषि क्षेत्रको योगदान ७६ प्रतिशत रहने अनुमान छ। प्रदेशगत रूपमा बागमती र गण्डकी प्रदेशको आर्थिक वृद्धि राष्ट्रिय औसतभन्दा माथि रहने देखिएको छ। धान उत्पादन भने ४.२० प्रतिशतले घटेर ५७ लाख ५ हजार मेट्रिक टनमा सीमित भएको सर्वेक्षणमा उल्लेख छ।

राजस्वतर्फ संघीय राजस्व ३.२ प्रतिशतले वृद्धि भएको छ भने सरकारी खर्च १०.४ प्रतिशतले बढेको छ। पुँजीगत खर्च अपेक्षाकृत रूपमा कमजोर देखिएको छ। सरकारको कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ४३.६ प्रतिशत बराबर हो।

बाह्य क्षेत्र बलियो देखिएको बताउँदै अर्थमन्त्रीले विप्रेषण ३७.७ प्रतिशतले बढेर १४ खर्ब ५० अर्ब पुगेको जानकारी दिए। विदेशी विनिमय सञ्चिति ३४ खर्ब १४ अर्ब पुगेको छ, जसले करिब १८.५ महिनाको आयात धान्न सक्ने क्षमता देखाएको छ। तर व्यापार घाटा ११.२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब पुगेको छ, जसलाई अर्थतन्त्रको प्रमुख चुनौतीका रूपमा लिइएको छ।

डिजिटल भुक्तानीतर्फ क्यूआर कारोबार १ खर्ब २५ अर्ब नाघेको छ। यसैबीच नेपालले ‘BB- स्टेबल आउटलुक’ क्रेडिट रेटिङ प्राप्त गरेको छ। मानव विकास सूचकांक ०.६२२ पुगेको छ भने औसत आयु ७१.३ वर्ष पुगेको छ। शिक्षा र स्वास्थ्य सूचकहरूमा पनि सुधार देखिएको सर्वेक्षणमा उल्लेख छ।