समस्याग्रस्त सहकारीका बचत फिर्ता ऋण असुलीबाटै भइरहेको सरकारको स्पष्टोक्ति
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । सरकारले समस्याग्रस्त सहकारीका बचतकर्तालाई फिर्ता गरिएको रकम राज्यकोषबाट नभई ऋण असुली र सम्पत्ति बिक्रीबाट प्राप्त रकमबाटै गरिएको स्पष्ट पारेको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बचत फिर्ता प्रक्रिया सहकारीकै स्रोत परिचालनमार्फत भइरहेको जनाएको हो। समितिका अनुसार समस्याग्रस्त घोषित २० सहकारीमा १० हजार रुपैयाँभन्दा कम बचत भएका साना बचतकर्ताको रकम चरणबद्ध रूपमा फिर्ता भइरहेको छ। तर हालसम्म चक्रीय कोष स्थापना भने भइसकेको छैन।
समितिले ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट उठेको रकम सम्बन्धित बचतकर्तालाई फिर्ता गर्ने काम प्रचलित कानुनी व्यवस्था अनुसार निरन्तर भइरहेको जनाएको छ। सरकारले मन्त्रिपरिषद्को निर्णयअनुसार ‘समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०८३’ कार्यान्वयनमा ल्याएको छ।
समितिले कर्जा असुलीलाई प्राथमिकतामा राखेर काम भइरहेको र असुल भएको रकम सोही सहकारीका बचतकर्तालाई फिर्ता गर्ने प्रक्रिया अघि बढिरहेको जनाएको छ।







