स्थानीय निर्वाचनको तयारीमा नेकपाको जनप्रतिनिधि भेला
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । आगामी स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थानीय जनप्रतिनिधिहरूको भेला आयोजना गरेको छ।
काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा आजदेखि सुरु भएको भेलामा देशभरका जनप्रतिनिधिहरू सहभागी भएका छन्। कार्यक्रममा स्थानीय तह विभाग प्रमुख अग्निप्रसाद सापकोटाले हालसम्म भएका कामको समीक्षा र आगामी योजनाबारे प्रतिवेदन प्रस्तुत गर्नेछन्।
भेलालाई पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ। साथै, दुई जना विज्ञहरूले पनि प्रशिक्षणमूलक प्रस्तुति दिनेछन्। पार्टीका अनुसार जनप्रतिनिधिहरूको कार्यकाल अन्तिम चरणमा पुगेकाले अहिलेसम्मको उपलब्धि, समस्या र आगामी निर्वाचनको तयारीबारे छलफल गर्न भेला आयोजना गरिएको हो।
सापकोटाले आगामी निर्वाचनमा वामपन्थी दलहरूबीच सहकार्य हुन सक्ने बताए। तर नेपाल कम्युनिस्ट पार्टी (एमाले) सँग तत्काल एकताको सम्भावना भने नरहेको उनको भनाइ छ। यसअघि भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा १७ सिट जित्दै चौथो ठूलो दल बनेको थियो।







