निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा बन्द

User Image Prime TV News एक घण्टा अगाडि
Image of निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा बन्द

काठमाडौ । स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा दिइँदै आएको स्वास्थ्य बीमा सेवा बन्द गर्ने निर्णय गरेको छ। अब आकस्मिक बाहेकका अन्य सबै बीमा सेवा रोकिएका छन्।

बोर्डले आर्थिक समस्या बढेको भन्दै जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म सेवा स्थगित गरिएको जनाएको छ। यो निर्णय जेठ ११ गते बसेको बैठकले गरेको हो। यससँगै निजी अस्पताल र मेडिकल कलेजबाट बीमामार्फत पाइने ओपीडी, परीक्षण, औषधि, शल्यक्रिया लगायतका नियमित सेवा प्रभावित हुने भएका छन्।

आकस्मिक सेवा भने चलिरहने बोर्डले जनाएको छ। हाल देशभर ३६ वटा निजी स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिरहेका छन्। स्वास्थ्य बीमा बोर्डका अनुसार अस्पतालहरूलाई करिब १६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ। लामो समयदेखि पैसा नपाएको भन्दै निजी अस्पतालहरूले गुनासो गर्दै आएका थिए।

स्वास्थ्य क्षेत्रका जानकारहरूले सरकारको कमजोर व्यवस्थापनका कारण स्वास्थ्य बीमा कार्यक्रम संकटमा परेको बताएका छन्। अहिलेको निर्णयले बीमित नागरिकलाई उपचारमा थप समस्या हुने चिन्ता बढेको छ।