प्रधानमन्त्री अनुपस्थित भएपछि हर्क साम्पाङद्वारा संसद् बैठक बहिष्कार
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । श्रम संस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा उपस्थित नभएको भन्दै संसद् बैठक बहिष्कार गरेका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै साम्पाङले आफूहरूले लामो समयदेखि प्रधानमन्त्रीसँग विभिन्न विषयमा जवाफ माग्दै आएको तर निरन्तर अनुपस्थित रहने प्रवृत्ति देखिएको बताएका थिए। उनले यस विषयमा सभामुख डोल प्रसाद अर्यालको ध्यानाकर्षण गराउँदै संसद्को मर्यादा कायम गर्न प्रधानमन्त्रीको उपस्थितिलाई अनिवार्य बनाउन आग्रह गरे।
साम्पाङले प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ उल्लेख गर्दै संसदमा उठेका प्रश्नको प्रधानमन्त्री वा सम्बन्धित मन्त्रीले सात दिनभित्र जवाफ दिनुपर्ने व्यवस्था रहेको बताए। उक्त व्यवस्था कार्यान्वयन नभएको आरोप लगाउँदै उनले प्रधानमन्त्री उपस्थित नभएसम्म बैठकमा बस्न नसक्ने धारणा राखे।
उनले “प्रधानमन्त्री उपस्थित हुनुपर्छ, नभए मलाई नै संसद् बैठकबाट निकालियोस्,” भन्दै कडा असन्तुष्टि व्यक्त गरेका थिए। त्यसपछि केहीबेर सभामुखसँग सवाल–जवाफ भएको थियो। सभामुख अर्यालले यस विषयमा अघिल्लो दिन पनि छलफल भएको जानकारी दिँदै संसद्को प्रक्रिया अनुसार विषय अगाडि बढाइने बताएका थिए।
केही समयपछि साम्पाङ बैठक कक्षबाट बाहिरिएका थिए। प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर संसद्मा देखिएको यो घटनाले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ।







