काठमाडौको गोकर्णेश्वर नगरपालिकाका ३ वडामा बर्डफ्लु पुष्टि

User Image Prime TV News १० घण्टा अगाडि
Image of काठमाडौको गोकर्णेश्वर नगरपालिकाका ३ वडामा बर्डफ्लु पुष्टि

काठमाडौ । काठमाडौको गोकर्णेश्वर नगरपालिकाका वडा नं. २, ३ र ४ मा घातक मानिने ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ (बर्डफ्लु) पुष्टि भएको छ। संक्रमण पुष्टि भएपछि नगरपालिकाले नियन्त्रण तथा रोकथामका लागि विशेष अभियान सञ्चालन गर्दै प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामनारायण मौलीका अनुसार संक्रमित क्षेत्रका हाँस, कुखुरा, बट्टाई, लौकाट लगायतका पंक्षी तथा अन्डा र दाना नष्ट गर्ने कार्य सुरु गरिएको छ। साथै, रोग अन्य क्षेत्रमा फैलिन नदिन निसंक्रमण र सुरक्षित विसर्जनको काम पनि तीव्र पारिएको छ।

बर्डफ्लु ‘जुनोटिक’ रोग भएकाले मानिसमा समेत सर्ने जोखिम रहने भन्दै नगरपालिकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। फार्म सञ्चालनमा कडाइ गर्दै अनावश्यक प्रवेश निषेध, अनिवार्य निसंक्रमण, फुटबाथको व्यवस्था, छुट्टै बुट–एप्रोन प्रयोग, तथा नियमित सरसफाइ गर्न निर्देशन दिइएको छ। यस्तै, फार्ममा कुकुर, बिरालो र मुसा प्रवेश रोक्नसमेत भनिएको छ।

नगरपालिकाले पंक्षीजन्य उत्पादन राम्रोसँग पकाएर मात्र उपभोग गर्न र ओसारपसार गर्दा भेटेरिनरी प्रमाणपत्र अनिवार्य रूपमा लिन आग्रह गरेको छ। यदि कुनै फार्ममा असामान्य रूपमा पंक्षी बिरामी परे वा मरेमा सुरक्षित रूपमा गाडेर तुरुन्त सम्बन्धित पशु सेवा शाखालाई जानकारी दिन नगरपालिकाले अनुरोध गरेको छ।

नगरपालिकाले “सतर्क बनौँ, बर्डफ्लुबाट आफू, व्यवसाय र समुदायलाई जोगाऔँ” भन्ने सन्देशसहित नियन्त्रण कार्यलाई थप प्रभावकारी बनाइएको जनाएको छ।