संसद् सचिवालयको समयसीमा भित्र ६ सांसदले बुझाएनन् सम्पत्ति विवरण
Prime TV News १२ घण्टा अगाडि 
काठमाडौ । प्रतिनिधिसभाका ६ जना सांसदले तोकिएको समयभित्र सम्पत्ति विवरण पेश नगरेको पाइएको छ। संघीय संसद् सचिवालयले जेठ १० गतेसम्म सम्पत्ति विवरण बुझाउन सांसदहरूलाई आग्रह गरेको थियो।
सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार २५४ जना सांसदले समयमै सम्पत्ति विवरण बुझाएका छन् भने ६ जनाले अझै विवरण पेश गरेका छैनन्। प्रतिनिधिसभामा २७५ सदस्य रहेका छन्, जसमा १७ जना मन्त्रीले भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पत्ति विवरण बुझाउने व्यवस्था छ।
भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनअनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले पद ग्रहण गरेको ६० दिनभित्र आफ्नो तथा परिवारको नाममा रहेको सम्पत्तिको विवरण सम्बन्धित निकायमा बुझाउनुपर्ने कानुनी प्रावधान छ।
सचिवालयका अनुसार सम्पत्ति विवरण नबुझाउने सांसदहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीका पाँच जना र नेपाल कम्युनिस्ट पार्टीका एक जना सांसद रहेका छन्। विवरण नबुझाउने सांसदहरूमा धनबहादुर बुढा, आशा झा, कोमल ज्ञवाली, तपेश्वर यादव, प्रमोद कुमार महतो र रबिन महतो रहेका छन्।







