कपिलवस्तुमा बस दुर्घटना, ३८ जना घाइते, दुईको अवस्था गम्भीर
Prime TV News १३ घण्टा अगाडि 
कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–४ बरईपुरस्थित तौलिहवा–बहादुरगन्ज हुलाकी सडकखण्डमा मंगलबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार काठमाडौं बाट सुर्खेत तर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको हो। दुर्घटनापछि स्थानीय र प्रहरीले घाइतेको उद्धार गरी जिल्ला अस्पताल तौलिहवा पठाएका थिए। घाइतेमध्ये ३५ जनालाई थप उपचारका लागि भैरहवा स्थित विभिन्न अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।
दुई जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइतेमा पवित्रा देवकोटा र प्रकाश विक रहेका छन्। दुर्घटनामा बस चालक डिल्लीप्रसाद दाहाल, सहचालक राजन बुढा सहित सुर्खेत, दैलेख, कालीकोट, जुम्ला, बाँके, झापा, काठमाडौं, ललितपुर र ओखलढुंगाका यात्रु घाइते भएका छन्।
अधिकांशको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। बस दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।







