देशका विभिन्न ठाउँमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
Prime TV News १५ घण्टा अगाडि 
काठमाडौ । नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिकको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। यसकै असरका कारण काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा वर्षा भइरहेको छ।
महाशाखाले आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहने जनाएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि बादल लाग्ने सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।
मधेश प्रदेशसहित तराईका केही ठाउँमा हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा अत्यधिक गर्मी र तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा जारी रहने अनुमान गरिएको छ ।







