अमेरिकाले इरानमा नयाँ हवाई आक्रमण, क्षेप्यास्त्र स्थल र डुङ्गा निशानामा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । अमेरिकाले इरानको दक्षिणी क्षेत्रमा नयाँ हवाई आक्रमण गरेको छ। अमेरिकी सेनाले इरानी क्षेप्यास्त्र प्रहार गर्ने स्थल र समुद्री सुरुङ बिछ्याउन प्रयोग भइरहेका डुङ्गालाई लक्षित गरी आक्रमण गरेको बताइएको छ।
अमेरिकी सेन्ट्रल कमान्डले एक विज्ञप्ति जारी गर्दै यो कारबाही आत्मरक्षाका लागि गरिएको जनाएको छ। अमेरिकी सेनामाथि हुन सक्ने सम्भावित आक्रमण रोक्न यस्तो कदम चालिएको सेन्ट्रल कमान्डको भनाइ छ।
सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले अमेरिकी सेना संयमित रूपमा आफ्ना फौजको सुरक्षा गरिरहेको बताएका छन्। बिबिसिका अनुसार आक्रमण रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज मार्ग नजिक रहेको बन्दर अब्बास आसपास गरिएको हो।
यसअघि इरानी सरकारी सञ्चारमाध्यमले बन्दर अब्बास क्षेत्रमा ठूलो विस्फोटको आवाज सुनिएको र त्यसबारे अनुसन्धान भइरहेको बताएका थिए।
उता इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकासँगको वार्तामा केही प्रगति भएको बताएका छन्। तर तत्कालै सम्झौता हुने सम्भावना भने नरहेको उनको भनाइ छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान सम्झौता नजिक पुगेको संकेत दिएका थिए। पछि उनले आफ्ना वार्ताकारहरूलाई सम्झौतामा हतार नगर्न निर्देशन दिएका थिए ।







