सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गर्यो
Prime TV News एक दिन अगाडि 
काठमाडौ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वर्षे धानको समर्थन मूल्य निर्धारण गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार मोटो धानको प्रति क्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ समर्थन मूल्य तोकिएको छ। त्यस्तै, मध्यम धानको समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ८ सय ६० रुपैयाँ कायम गरिएको छ।
सरकारले किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकून् भन्ने उद्देश्यले समयमै समर्थन मूल्य निर्धारण गरिएको जनाएको छ। यस निर्णयले किसानलाई धान उत्पादनमा प्रोत्साहन मिल्ने र बजार मूल्यमा स्थिरता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यस्तै बैठकले नेपाल चीन जोड्ने विद्युत् प्रशारण लाइन आयोजना चिलिमे केरुङको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतित्यूतर पत्र (लेटर अफ रिप्लाई) स्वीकृत गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ताका अनुसार बैठकले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने र नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरेको छ ।







