लुम्बिनी प्रदेशले कृषि, पर्यटन र डिजिटल सेवामा जोड दिँदै नयाँ नीति ल्यायो (पूर्णपाठ सहित)

User Image Prime TV News एक दिन अगाडि
Image of लुम्बिनी प्रदेशले कृषि, पर्यटन र डिजिटल सेवामा जोड दिँदै नयाँ नीति ल्यायो (पूर्णपाठ सहित)

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

सरकारले कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनलाई मुख्य प्राथमिकतामा राखेको छ। प्रदेश सरकारले हाल रहेका १२ मन्त्रालयलाई घटाएर ८ वटा मात्रै बनाउने घोषणा गरेको छ। आगामी साउन १ गतेदेखि नयाँ संरचना लागू गरिने बताइएको छ।

यस्तै कृषि उत्पादन बढाउन प्रत्येक पालिकामा एक अर्ग्यानिक वा रैथाने बाली उत्पादन गर्ने नीति ल्याइएको छ। साथै विभिन्न जिल्लामा कृषि स्रोत केन्द्र स्थापना गरिने भएको छ। सरकारले ‘डिजिटल लुम्बिनी’ र ‘उद्यमशील लुम्बिनी’ अभियान सञ्चालन गर्ने जनाएको छ। विदेशबाट फर्किएका युवालाई कृषि र व्यवसायमा आकर्षित गर्न विशेष कार्यक्रम ल्याइनेछ। महिलालाई उद्यमशील बनाउन पनि योजना अघि सारिएको छ।

लुम्बिनी, स्वर्गद्वारी र बर्दिया राष्ट्रिय निकुञ्जलाई जोडेर ‘सिल्भर ट्राइङ्गल’ पर्यटन क्षेत्र बनाउने योजना ल्याइएको छ। रोल्पा र रुकुम पूर्वमा पदमार्ग र बेसक्याम्प निर्माण गरिने भएको छ। दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स र हवाई उद्धार सेवा सञ्चालन गरिने नीति कार्यक्रममा उल्लेख छ। राप्ती प्रादेशिक अस्पताललाई २०० शैयाको अस्पताल बनाइने पनि जनाइएको छ।

सरकारले सेवा प्रवाहलाई छिटो र सहज बनाउन डिजिटल टोकन, फाइल ट्र्याकिङ र एकल विन्दु सेवा प्रणाली लागू गर्ने जनाएको छ।