कांग्रेसले १५औँ महाधिवेशनका लागि सदस्यता अद्यावधिक तीव्र बनायो
Prime TV News एक दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारीस्वरूप क्रियाशील सदस्यता अद्यावधिक गर्ने कामलाई तीव्र बनाएको छ।
सानेपास्थित केन्द्रीय कार्यालयमा सोमबार बसेको ‘सदस्यता व्यवस्थापन केन्द्रीय समिति’को बैठकले सदस्यता वितरण र नवीकरण प्रक्रियालाई छिटो र सहज बनाउन सातै प्रदेशमा जिम्मेवारी तोकेको हो। महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा र महामन्त्री गगन थापाको उपस्थितिमा बसेको बैठकले प्रदेशअनुसार केन्द्रीय प्रतिनिधि खटाएको छ।
प्रदेशगत जिम्मेवारी अनुसार कोशीमा डा. डिला संग्रौला, मधेशमा देवराज चालिसे, बागमतीमा बहादुर सिंह लामा, गण्डकीमा मुक्ताकुमारी यादव, लुम्बिनीमा अमरसिंह पुन, कर्णालीमा जानकी सिंह र सुदूरपश्चिममा उदय शमशेर राणालाई अनुगमनको जिम्मेवारी दिइएको छ।
बैठकले नयाँ सदस्यता वितरण तथा नवीकरण प्रक्रिया जेठ २१ गतेभित्र पूरा गरी केन्द्रीय प्रणालीमा प्रविष्ट गर्नुपर्ने समयसीमा तोकेको छ। त्यस्तै, १४औँ महाधिवेशनका मान्यता प्राप्त सदस्यहरूलाई पुरानै सदस्यता मानेर नवीकरणमा समावेश गर्न जिल्ला सभापतिहरूलाई निर्देशन दिने निर्णय पनि गरिएको छ।
दल परिवर्तन गरी कांग्रेसमा समायोजन भएका व्यक्तिहरूको सदस्यतासम्बन्धी समस्या समाधान गर्न १३ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ। विदेशस्थित जनसम्पर्क समितिहरूलाई पनि सदस्यता अद्यावधिक र अधिवेशन तालिका बुझाउन निर्देशन दिइएको छ। यसैबीच, सदस्यता व्यवस्थापन समितिको सचिवमा केन्द्रीय कार्यालयका सह–सचिव प्रेम विश्वकर्मा नियुक्त भएका छन्।







