नेपालको हवाई क्षेत्रलाई कालो सूचीबाट हटाउन सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह
Prime TV News एक दिन अगाडि 
काठमाडौ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको हवाई क्षेत्रलाई युरोपेली संघ (ईयू) को उडान सुरक्षा सूची (कालोसूची) बाट हटाउने प्रक्रियामा सहयोग गर्न ईयूका सदस्य राष्ट्रहरूसँग आग्रह गरेका छन्।
सोमबार परराष्ट्र मन्त्रालयमा युरोपेली संघका राजदूतहरूको प्रतिनिधिमण्डलसँग भेट गर्दै उनले नेपालको हवाई सुरक्षामा भएको सुधारलाई ध्यानमा राख्न अनुरोध गरे। उनले नेपालले हवाई सुरक्षामा सुधार गर्दै आएको र थप सुधारका कामहरू पनि जारी रहेको जानकारी दिए।
मन्त्री खनालले ईयूसँगको विकास साझेदारीको प्रशंसा गर्दै व्यापार, शिक्षा, जलवायु परिवर्तन र जनस्तरको सम्बन्धलाई अझ बलियो बनाउनुपर्ने बताए। त्यस्तै, उनले जलविद्युत्, पर्यटन, पूर्वाधार र सूचना प्रविधि क्षेत्रमा थप लगानी गर्न ईयू राष्ट्रहरूलाई आग्रह गरे।
भेटमा ईयूकी राजदूत भेरोनिक लोरेन्जोले नेपालसँग सहकार्य बढाउन ईयू तयार रहेको बताइन्। उनले डिजिटल सेवा र ई-गभर्नेन्स क्षेत्रमा सहकार्य गर्न सकिने उल्लेख गरिन्। ईयूको २२ सदस्यीय प्रतिनिधिमण्डल मंगलबार प्रधानमन्त्री बालेन सँग सामूहिक भेट गर्ने कार्यक्रम पनि रहेको छ।







