जलाशययुक्त आयोजनामा सरकारको जोड, ऊर्जा मन्त्री श्रेष्ठले दिए प्राथमिकता
Prime TV News एक दिन अगाडि 
काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री विराजभक्त श्रेष्ठले जलाशययुक्त जलविद्युत् आयोजनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।
कुलेखानी जलविद्युत् आयोजनाको अवलोकनपछि उनले दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास र देशको आर्थिक प्रगतिका लागि यस्ता आयोजना आवश्यक रहेको बताए। मन्त्री श्रेष्ठका अनुसार जलाशययुक्त आयोजना विद्युत् उत्पादनसँगै पानी व्यवस्थापन, सिँचाइ, बाढी नियन्त्रण र पर्यटन विकासका लागि पनि उपयोगी हुनेछन्।
उनले जलवायु परिवर्तनका कारण वर्षा अनियमित हुँदै गएको र पानीको भण्डारणको आवश्यकता बढेको बताए। “ऊर्जा सुरक्षाका लागि जलाशययुक्त आयोजना नै सबैभन्दा महत्वपूर्ण विकल्प हो,” उनले भने। त्यस्तै, उद्योग, डाटा सेन्टर र सूचना प्रविधि क्षेत्रलाई निरन्तर बिजुली आपूर्ति गर्न यस्ता आयोजनाबाट उच्च माग हुने समयमा बढी विद्युत् उत्पादन गर्न सकिने उनको भनाइ छ।
मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरण लाई जलाशययुक्त आयोजनाको विकासका लागि नयाँ योजना बनाउन निर्देशन दिएका छन्। उनले निजी तथा विदेशी लगानी भित्र्याउनुपर्नेमा पनि जोड दिए। सरकारले यस्ता आयोजनामा लगानी आकर्षित गर्न लाइसेन्स अवधि ५० वर्षसम्म पुर्याएको पनि उनले जानकारी दिए।
कुलेखानीलाई उनले उदाहरणीय परियोजना भन्दै वरिपरिको सरसफाइ, फोहर व्यवस्थापन र स्थानीय समस्या समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। सन् १९८२ मा बनेको कुलेखानी नेपालकै पहिलो जलाशययुक्त जलविद्युत् आयोजना हो। यसको कुल क्षमता १०६ मेगावाट छ।







