सार्वजनिक मुद्दापछि सामाजिक सञ्जालबाट टाढा रहन न्यायाधीश पोखरेलको सुझाव

User Image Prime TV News एक दिन अगाडि
Image of सार्वजनिक मुद्दापछि सामाजिक सञ्जालबाट टाढा रहन न्यायाधीश पोखरेलको सुझाव

काठमाडौ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले सार्वजनिक चासोका मुद्दामा बहस वा फैसला गरेपछि न्यायाधीश तथा कानुन व्यवसायीहरूले सामाजिक सञ्जाल नहेर्न सुझाव दिएका छन्।

काठमाडौंमा आयोजित ‘मानसिक सु–स्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक कार्यक्रममा बोल्दै उनले सार्वजनिक सरोकारका मुद्दामा आउने तत्कालीन प्रतिक्रिया न्यायिक मनोविज्ञानमा असर पार्न सक्ने बताए।

उनका अनुसार कुनै फैसला वा बहसपछि सामाजिक सञ्जालमा आउने प्रशंसा वा आलोचनाले व्यक्तिको सोचमा असन्तुलन ल्याउन सक्छ। प्रशंसा पाएमा अत्यधिक आत्मविश्वास र आलोचना पाएमा नकारात्मक सोच विकास हुने भएकाले त्यस दिन अनलाइन गतिविधिबाट टाढा रहनु उपयुक्त हुने उनले बताए।

“जुन दिन सार्वजनिक सरोकारको मुद्दामा बहस वा फैसला हुन्छ, त्यस दिन बेलुका सामाजिक सञ्जाल नहेर्नु राम्रो हुन्छ,” उनले सुझाव दिए। न्यायाधीश पोखरेलले तत्कालीन प्रतिक्रिया सधैँ स्थायी नहुने भन्दै समयसँगै सार्वजनिक धारणा परिवर्तन हुने भएकाले संवेदनशील मुद्दामा संलग्न हुनेहरूले मानसिक सन्तुलन कायम राख्न ध्यान दिनुपर्ने धारणा राखे।