गणतन्त्र दिवसमा प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई सिफारिस
Prime TV News एक दिन अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले यस वर्ष गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा हुने विशेष समारोहलाई सम्बोधन नगर्ने भएका छन्। जेठ १५ गते हुने उक्त कार्यक्रममा उनले सम्बोधन नगरी राष्ट्रपतिलाई सम्बोधन गर्न सिफारिस गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रामचन्द्र पौडेललाई सम्बोधन गर्न अनुरोध गर्दै पत्राचार गरेको स्रोतले जनाएको छ। पत्रमा संविधानको धारा ६६ को उपधारा (२) अनुसार गणतन्त्र दिवसको अवसरमा हुने समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने सिफारिस गरिएको उल्लेख छ।
संविधानको उक्त व्यवस्थाअनुसार राष्ट्रपतिको केही कार्य मन्त्रिपरिषद्को सिफारिस र सम्मतिमा हुने प्रावधान छ। तर यसपटक प्रधानमन्त्री कार्यालयले औपचारिक सम्बोधनका लागि राष्ट्रपतिलाई अघि सार्ने निर्णय गरेको हो। गणतन्त्र दिवस मूल समारोह समिति प्रधानमन्त्रीकै अध्यक्षतामा गठन भएको छ। समितिले देशभर कार्यक्रम सञ्चालनका लागि सम्बन्धित निकायमा पत्राचार गरिसकेको गृह मन्त्रालयले जनाएको छ।
यसअघि गणतन्त्र दिवसमा टुँडिखेलको मुख्य समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने र राष्ट्रपतिको उपस्थिति रहने परम्परा थियो। तर यस वर्ष उक्त परम्परामा परिवर्तन देखिएको छ। राष्ट्रपति कार्यालयले पनि प्रधानमन्त्री कार्यालयबाट सिफारिस पत्र प्राप्त भएको पुष्टि गरेको छ। तर, यस विषयमा राष्ट्रपति रामचन्द्र पौडेलको औपचारिक प्रतिक्रिया भने सार्वजनिक गरिएको छैन।
यस निर्णयलाई लिएर राजनीतिक तथा प्रशासनिक वृत्तमा विभिन्न चर्चा सुरु भएको छ। केही स्रोतहरूले कार्यकारी प्रमुखबाट राष्ट्रप्रमुखलाई सम्बोधनका लागि सिफारिस गर्नु अस्वाभाविक भएको टिप्पणी गरेका छन्।







