दैनिक उपभोग्य वस्तु महँगियो, तरकारीमा ३ सय प्रतिशतभन्दा बढी मूल्यवृद्धि

User Image Prime TV News एक दिन अगाडि
Image of दैनिक उपभोग्य वस्तु महँगियो, तरकारीमा ३ सय प्रतिशतभन्दा बढी मूल्यवृद्धि

काठमाडौ । वैशाख महिनामा देशभर दैनिक उपभोग्य वस्तुको मूल्यमा तीव्र वृद्धि भएको देखिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले सार्वजनिक गरेको मासिक मूल्य समीक्षा प्रतिवेदनअनुसार तरकारी र खाद्यान्न दुवैमा अस्वाभाविक मूल्यवृद्धि भएको हो।

प्रतिवेदनअनुसार केही तरकारीमा अत्यधिक मूल्यवृद्धि देखिएको छ। घिउसिमी लोकलको मूल्य एक महिनामै ३३४ प्रतिशतभन्दा बढीले बढेर २३ रुपैयाँबाट १०० रुपैयाँ प्रतिकिलोसम्म पुगेको छ। त्यस्तै तने बोडी २५० प्रतिशत, लौका १६५ प्रतिशत, फर्सी लामो १३८ प्रतिशत र काँक्रो हाइब्रिड १२५ प्रतिशतले महँगिएको छ।

गोलभेँडा, काउली, ब्रोकाउली तथा सागजस्ता तरकारीमा पनि १०० प्रतिशतभन्दा बढी मूल्यवृद्धि देखिएको प्रतिवेदनमा उल्लेख छ। चामल, दाल र गेडागुडीको मूल्यमा पनि वृद्धि भएको छ। ढुवानी खर्च र इन्धन मूल्यमा भएको परिवर्तनका कारण चामलको मूल्य बढेको प्रतिवेदनले देखाएको छ।

सोना मन्सुली चामल प्रतिकिलो ६४ देखि ९५ रुपैयाँसम्म पुगेको छ भने बासमती चामल काठमाडौंमा १९० रुपैयाँसम्म बिक्री भएको छ। दालतर्फ मासको दाल २०७ रुपैयाँ र रहरको दाल २७० रुपैयाँसम्म पुगेको छ। राज्माको मूल्य १७० देखि ३०० रुपैयाँसम्म पुगेको छ।

कुखुराको मासु र खसीको मासु स्थिर रहे पनि अन्डाको मूल्य प्रतिक्रेट ६०० रुपैयाँ पुगेको छ। तेलतर्फ तोरीको तेल ३६० रुपैयाँ र भटमासको तेल २९३ रुपैयाँसम्म पुगेको छ। प्रतिवेदनले इन्धन मूल्यमा पटक–पटक भएको परिवर्तन, अन्तर्राष्ट्रिय बजारको अस्थिरता, मध्यपूर्वमा देखिएको तनाव तथा डलरको विनिमय दरमा आएको उतारचढावलाई प्रमुख कारण मानेको छ।

डलरको बिक्री दर १५२ रुपैयाँभन्दा माथि पुग्दा आयातित वस्तु महँगो भएको प्रतिवेदनको निष्कर्ष छ। साथै ढुवानी खर्च बढ्नु पनि मूल्यवृद्धिको अर्को कारण भएको उल्लेख छ। बजार स्थिर बनाउन उत्पादन वृद्धि, बेमौसमी खेती विस्तार र कडा बजार अनुगमन आवश्यक रहेको सुझाव दिइएको छ।