कांग्रेसमा एकता कायम गर्न शेखर कोइरालाका ५ प्रस्ताव

User Image Prime TV News एक दिन अगाडि
Image of कांग्रेसमा एकता कायम गर्न शेखर कोइरालाका ५ प्रस्ताव

काठमाडौ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको विवाद अन्त्य गरेर एकता कायम गर्न ५ प्रस्ताव अघि सारेका छन्।

पुस अन्तिम साता भएको विशेष महाधिवेशनपछि कांग्रेसभित्र विवाद बढिरहेका बेला कोइरालाले पार्टी नेतृत्वसँग एकताको वातावरण बनाउन आग्रह गरेका हुन्। कोइरालालाई भेट्न सभापति गगन थापा र महामन्त्री प्रदीप पौडेल उनकै विशालनगरस्थित सम्पर्क कार्यालय पुगेका थिए।

भेटका क्रममा कोइरालाले पार्टी मिलाएर अघि बढ्न केही प्रस्ताव दिएको बताइएको छ। कोइरालाले आफूलाई कुनै पद नचाहिएको भन्दै पार्टी एकता नै मुख्य विषय भएको बताएका छन्। “मलाई वरिष्ठ नेता चाहिएको छैन, पार्टी एकढिक्का हुनुपर्छ,” उनले बताएका छन्।

उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार पार्टी नेतृत्वसँग भएका छलफलमा कोइरालाले पाँच बुँदे प्रस्ताव राखेका हुन्। कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधान गर्न यी प्रस्तावलाई महत्त्वका साथ हेरिएको छ।

 कोइरालाका पार्टी एकता कायम राख्न गर्नुपर्ने ५ प्रस्तावः

१) १५औँ महाधिवेशनको लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्ने ।

२) १४औँ महाधिवेशन पछाडि नवीकरण गरिएका र वितरण गरिएका क्रियाशील सदस्यता कै आधारमा १५औँ महाधिवेशन गर्ने ।

३) १४औँ महाधिवेशनको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई समायोजन गरेर एउटै बनाउने ।

४) कार्य सम्पादन समिति सभापतिको बहुमत हुनेगरी गठन गर्ने ।

५) निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति, अनुशासन समिति, विधान समिति र अन्य समितिहरु आपसी सहमतिबाट मात्रै बनाउने ।