गोलाप्रथा हटाउने प्रयास भए आन्दोलन गर्ने बार अध्यक्ष मिश्रको चेतावनी

User Image Prime TV News एक दिन अगाडि
Image of गोलाप्रथा हटाउने प्रयास भए आन्दोलन गर्ने बार अध्यक्ष मिश्रको चेतावनी

काठमाडौ । नेपाल बार एसोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा पेशी प्रणाली हटाउने तयारीप्रति तीव्र असन्तुष्टि जनाएका छन्। उनले उक्त प्रणाली हटाइए न्यायपालिकाको स्वतन्त्रतामाथि गम्भीर असर पर्ने चेतावनी दिएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मिश्रले प्रधानन्यायाधीशले प्रत्यक्ष रूपमा पेशी तोक्ने पुरानो व्यवस्था पुनः लागू गरिए न्यायपालिका राजनीतिक प्रभावमा पर्ने खतरा बढ्ने बताए। उनले गोलाप्रथा प्रणाली हटाउने निर्णय भए कानुन व्यवसायीहरू आन्दोलनमा उत्रिने स्पष्ट संकेत गरे। “गोलाप्रथा हटाउने कुरा आयो भने आन्दोलनको अवस्था आउँछ,” उनले भने।

प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामाथि टिप्पणी गर्दै मिश्रले संवैधानिक परिषद्मार्फत प्रधानमन्त्रीलाई अनुकूल व्यक्ति चयन गर्ने प्रवृत्ति बढ्दै गएको आरोप लगाए। प्रधानमन्त्री निकट व्यक्तिलाई प्रधानन्यायाधीश बनाउने अभ्यासले न्यायपालिकाको निष्पक्षतामाथि प्रश्न उठाएको उनको भनाइ थियो।

सरकारको आलोचना गर्ने व्यक्तिलाई ‘झोले’ भन्दै सामाजिक र राजनीतिक दबाब सिर्जना गर्ने प्रयास भइरहेको दाबी गर्दै उनले यस्तो परिस्थितिमा कानुन व्यवसायीहरूले विवेक र पेशागत मर्यादा जोगाउनुपर्ने आवश्यकता औंल्याए।

मिश्रले न्यायालय र न्यायाधीशलाई बलियो बनाउने दायित्व कानुन व्यवसायीकै भएको उल्लेख गर्दै वर्तमान अवस्थामा न्यायपालिकाले गम्भीर चुनौती सामना गरिरहेको बताए।