भारतमा इन्धन महँगियो, १० दिनमै चौथोपटक मूल्य वृद्धि

User Image Prime TV News एक दिन अगाडि
Image of भारतमा इन्धन महँगियो, १० दिनमै चौथोपटक मूल्य वृद्धि

काठमाडौ । पश्चिम एसियामा जारी युद्ध र ऊर्जा आपूर्ति संकटको असर भारतीय इन्धन बजारमा देखिन थालेको छ। भारतका सरकारी इन्धन कम्पनीहरूले पछिल्लो १० दिनभित्र चौथोपटक पेट्रोल र डिजेलको मूल्य बढाएका छन्।

फेब्रुअरीदेखि क्षेत्रीय युद्ध सुरु भएयता भारतमा अटोमोबाइल इन्धनको मूल्य करिब पाँच प्रतिशतले वृद्धि भएको बताइएको छ। विशेषगरी स्ट्रेट अफ होर्मुज क्षेत्रमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय तेल आपूर्ति शृङ्खला प्रभावित बनेको छ। विश्वकै महत्वपूर्ण ऊर्जा ढुवानी मार्ग मानिने उक्त जलमार्गबाट भारतले आफ्नो करिब आधा कच्चा तेल आयात गर्दै आएको छ।

आपूर्तिमा जोखिम बढ्दै गएपछि भारतीय बजारमा इन्धनको मूल्य समायोजनको दबाब पनि बढेको छ। पछिल्लो मूल्यवृद्धिपछि राजधानी नयाँ दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर १०२.१२ रुपैयाँ पुगेको छ भने डिजेल ९५.२० रुपैयाँमा कारोबार भइरहेको छ। देशभर औसतमा इन्धनको मूल्य २ रुपैयाँभन्दा बढीले बढाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यो वृद्धि नरेन्द्र मोदीले विदेशी मुद्रा सञ्चिति जोगाउन इन्धन खपत नियन्त्रण आवश्यक रहेको अभिव्यक्ति दिएको केही दिनपछि आएको हो। मोदीले आयातमा हुने ठूलो खर्च व्यवस्थापन गर्न ऊर्जा उपभोगमा अनुशासन आवश्यक रहेको बताएका थिए।

यसैबीच पश्चिम एसियाबाट आपूर्ति घट्न थालेपछि भारतले रुसबाट कच्चा तेल आयात बढाएको छ। जहाज ट्र्याकिङ तथा आयातसम्बन्धी तथ्यांकले भारत वैकल्पिक स्रोततर्फ थप केन्द्रित भएको देखाएका छन्। ऊर्जा बजारमा बढ्दो अस्थिरताका कारण आगामी दिनमा पनि भारतमा इन्धनको मूल्य थप प्रभावित हुन सक्ने अनुमान गरिएको छ।