मधेशमा सरकार विस्तार रोकियो, मन्त्री बन्न आएका सांसद रित्तै फर्किए

User Image Prime TV News एक दिन अगाडि
Image of मधेशमा सरकार विस्तार रोकियो, मन्त्री बन्न आएका सांसद रित्तै फर्किए

जनकपुर । मधेस प्रदेशमा सरकार विस्तारको तयारी अन्तिम समयमा रोकिएको छ। आइतबार मन्त्रीको शपथ हुने तयारी भए पनि सत्ता गठबन्धनभित्र विवाद भएपछि कार्यक्रम स्थगित भएको हो।

नेकपा एमालेबाट मन्त्री बन्ने तयारीमा रहेका प्रदेश सांसदहरू शपथका लागि मुख्यमन्त्री कार्यालय पुगेका थिए। तर, शपथ कार्यक्रम नभएपछि उनीहरू निराश भएर फर्किएका छन्।

एमालेबाट सरदा देवी थापा, मनोजकुमार सिंह र लखन दास मन्त्री बन्ने चर्चा थियो। उनीहरूसँगै विनाविभागीय मन्त्री मोहमम्मद समिर पनि मुख्यमन्त्री कार्यालय पुगेका थिए।

गत बिहीबार मुख्यमन्त्री कृष्ण प्रसाद यादव नेतृत्वको सरकारले जनता समाजवादी पार्टीका मन्त्रीहरू हटाएर नयाँ सत्ता समीकरण बनाएको थियो।

तर सरकार गठन भएको तीन दिनमै गठबन्धनभित्र विवाद सुरु भएको छ। नेकपाले नौ बुँदे सहमतिमा हस्ताक्षर र कार्यान्वयन हुनुपर्ने अडान राखेको छ।

सहमतिमा शिक्षा, स्वास्थ्य र कृषिमा बढी बजेट दिने, साना टुक्रे योजना रोक्ने र सुशासन कायम गर्ने विषय समेटिएका छन्। नेकपाले यी सर्त पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने चेतावनी दिएको छ।