संविधान संशोधनका लागि ५४ प्रस्ताव, विदेशबाट मतदान गर्न पाउने विषय पनि छलफलमा

User Image Prime TV News एक दिन अगाडि
Image of संविधान संशोधनका लागि ५४ प्रस्ताव, विदेशबाट मतदान गर्न पाउने विषय पनि छलफलमा

काठमाडौ । संविधान संशोधनबारे बहस गर्न गठन गरिएको कार्यदलले ५४ वटा प्रस्ताव तयार गरेको छ। कार्यदलले विभिन्न विषयमा छलफल गरेर संविधान संशोधन बहसपत्र तयार गर्ने तयारी गरेको हो।

प्रस्तावमा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषय पनि समेटिएको छ। साथै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, निर्वाचन प्रणालीमा सुधार, न्यायपालिकामा परिवर्तन र संघीयता प्रभावकारी बनाउने विषय पनि राखिएको छ।

कार्यदलले प्रदेशको संख्या, मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन, स्थानीय तहको कामलाई थप जिम्मेवार बनाउने र न्यायपालिकामा देखिएका समस्या समाधान गर्ने विषयमा पनि छलफल गरिरहेको जनाएको छ।

कार्यदलका संयोजक अशिम शाहका अनुसार अहिले विभिन्न राजनीतिक दल, कानुनविद्, पूर्वन्यायाधीश र सरोकारवालासँग छलफल भइरहेको छ। कार्यदलले आम नागरिकसँग पनि सुझाव मागेको छ। सुझाव इमेल र ह्वाट्सएपमार्फत पठाउन सकिने जनाएको छ।

यो कार्यदल प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले गठन गरेको हो। कार्यदलले सय दिनभित्र बहसपत्र तयार गर्ने लक्ष्य राखेको छ ।