मितेरी सहकारी प्रकरणमा ज्योति गुरुङलाई अदालतको २१ दिने म्याद
Prime TV News एक दिन अगाडि 
काठमाडौ । ललितपुर जिल्ला अदालतले मितेरी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएकी ज्योती गुरुङलाई २१ दिने सूचना जारी गरेको छ। अदालतले उनलाई प्रमाणसहित प्रतिउत्तर पेश गर्न आदेश दिएको हो।
अदालतको सूचनाअनुसार बोधविक्रम थापाले ज्योति गुरुङविरुद्ध लेनदेन मुद्दा दायर गरेका थिए। अदालतले मुलुकी देवानी कार्यविधि संहिता, २०७४ अनुसार २१ दिनभित्र आफैं वा कानुनी प्रतिनिधिमार्फत उपस्थित हुन भनेको छ।
सूचनामा लेखिए अनुसार बोधविक्रम थापाले ज्योतिविरुद्ध लेनदेन मुद्दा दायर गरेका थिए । त्यस अनुसार जिल्ला अदालतबाट गुरुङका नाममा जारी भएको म्याद बदर भई २०८३ साल जेठ ५ मा भएको आदेश अनुसार मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १०५ को उपदफा २२ बमोजिम २१ दिने सूचना जारी गरिएको सूचनामा उल्लेख छ ।
‘यो म्याद सूचना पत्रिकामा प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक २१ (एक्काइस) दिनभित्र आफैं वा कानुन बमोजिमको प्रतिनिधि मार्फत् आफ्नो भएको सबुद प्रमाणसहित प्रतिउत्तर पत्र लिई यस अदालतमा उपस्थित हुनुहोला,’ आज गोरखापत्रमा प्रकाशित सूचनामा लेखिएको छ ।
सूचनामा तोकिएको समयभित्र अदालतमा उपस्थित नभए कानुनअनुसार प्रक्रिया अघि बढ्ने र पछि उजुरी गर्न नपाइने उल्लेख गरिएको छ। ज्योति गुरुङ नेपाली कांग्रेसका नेता धनराज गुरुङकी पूर्वपत्नी हुन्। उनी मितेरी सहकारीमा महाप्रबन्धकको रूपमा कार्यरत थिइन्।
मितेरी सहकारीको करिब साढे १२ करोड रुपैयाँ हिनामिना भएको आरोपमा सहकारीका सचिव बोधबिक्रम थापाले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी दिएका थिए।
उजुरीमा ज्योति गुरुङसहित पाँच जनाले सहकारीको रकम दुरुपयोग गरेको आरोप लगाइएको छ। सहकारीका पदाधिकारीहरूका अनुसार रकम फिर्ता गर्न पटक–पटक आग्रह गर्दा पनि उनी सम्पर्कमा नआएको दाबी गरिएको छ।







