बुढीगण्डकी आयोजना विवादमा अर्थमन्त्रीको अभिव्यक्ति प्रति पाण्डेको आपत्ति

User Image Prime TV News २ दिन अगाडि
Image of बुढीगण्डकी आयोजना विवादमा अर्थमन्त्रीको अभिव्यक्ति प्रति पाण्डेको आपत्ति

काठमाडौ । बुढीगण्डकी जलविद्युत् आयोजनाको लागत र निर्माणबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको भनाइप्रति पूर्वमुख्यमन्त्री तथा नेता राजेन्द्रप्रसाद पाण्डेले आपत्ति जनाएका छन्।

आइतबार विज्ञप्ति जारी गर्दै पाण्डेले अर्थमन्त्रीको अभिव्यक्तिले जनतामा निराशा फैलाउने भन्दै गम्भीर असहमति व्यक्त गरेका हुन्। उनले बुढीगण्डकीलाई सामान्य जलविद्युत् आयोजनाको रूपमा मूल्याङ्कन गरिएको दाबी पनि गरेका छन्।

पाण्डेका अनुसार सरकारले १,२०० मेगावाट क्षमताको जलाशययुक्त यो आयोजना अघि बढाउने निर्णय पहिले नै गरिसकेको छ। साथै, गोरखा र धादिङका २७ गाविसका करिब ५३ हजार रोपनी जमिन अधिग्रहण भइसकेको र ४३ अर्ब रुपैयाँभन्दा बढी मुआब्जा वितरण भइसकेको उनले बताएका छन्।

उनले बुढीगण्डकीलाई केवल विद्युत् उत्पादनको परियोजना मात्र नभई बहुउद्देश्यीय राष्ट्रिय गौरवको आयोजना भएको बताएका छन्। उनका अनुसार यसबाट जल यातायात, मत्स्यपालन, पर्यटन तथा पूर्वाधार विकास जस्ता धेरै फाइदा हुनेछन्।

पाण्डेले आयोजनाको महत्वलाई कमजोर नआँक्न आग्रह गर्दै सरकारलाई यसको निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापनमा ध्यान दिन सुझाव दिएका छन्।